चिया निर्यातमा देखिएको समस्या समाधान गर्छौं : प्रधानमन्त्री ओली
निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा पनि सरकारले सक्दो काम गर्ने प्रधानमन्त्रीको भनाइ

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्या समाधान गर्ने बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज चिया उत्पादक संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले चिया निर्यातमा देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले चिया उद्योगलाई प्रवर्द्धन, प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने जानकारी गराए। उनले नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए।
निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा पनि सरकारले सक्दो काम गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक संघका प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव पनि दिए ।
प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक रु छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी) प्रक्रिया मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए।
ज्ञापनपत्रमा नेपालमै अक्सन (लिलामी) प्रक्रियां केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्कालन उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत आपूर्ति र महशुलको प्रबन्ध गर्न पनि सरकारसँग माग राखिएको छ ।