च्याम्पियन्स ट्रफी फाइनलको लागि भारत र अस्ट्रेलिया एक आपसमा भिड्दै
२० फागुन, काठमाडौं । पाकिस्तानमा जारि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलको पहिलो खेल हुँदैछ । जहाँ विश्व क्रिकेट वरीयताका दुई शीर्ष टोली भारत र अस्ट्रेलिया एक आपसमा भिड्दैछन् ।
खेल आज दिउँसो दुबई इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार २ः४५ देखि सुरु हुनेछ ।
आईसीसी टुर्नामेन्टको नकआउटमा दुवै टिमको यो भेट नवौंपटक हो । यसअघि पहिले भएका भिडन्तमा दुवै टिमले ४–४ जित निकालेका छन् ।
सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा दुवै टिमको अन्तिम भेट थियो । जहाँ आयोजक भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।
रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले फाइनलमा स्थान बनाउन मात्र होइन, सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलको हारको बदला लिने मौकाका रुपमा पनि हेरिएको छ ।