ट्रम्पको हमासलाई अन्तिम चेतावनी : बन्धक र शव तत्काल रिहा नगरे हमासका कोही सुरक्षित रहँदैनन्

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो खबर आएको हो।


२२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन्। ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासको लागि यो ‘अन्तिम चेतावनी’हुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै लेखेका छन्, ‘यदी हमासले मेरो कुरा मानेनन् भने म इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउँछु। हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो खबर आएको हो।

ट्रम्पले बन्धकहरूलाई रिहा गरिएन भने हमासले यसको ठूलो मूल्य चुकाउने बताएका छन्। उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भन्ने कुरा भने स्पष्ट पारेका छैनन्।

उनले आफ्नो पोस्टमा थप भनेका छन्, ‘सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन। मारेकाहरूको शव तुरुन्तै फिर्ता गर नत्र सबै कुरा सकिन्छ। यो अन्तिम चेतावनी हो। हमास नेतृत्वले गाजा छोड्ने समय आएको छ।’

ट्रम्पको उक्त पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो।

बुधबार गाजा बन्धकहरूको मुद्दामा कतारको राजधानी दोहामा अमेरिका र हमासबीच प्रत्यक्ष वार्ता भएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छन्। उनले वार्ता अघि इजरायलसँग पनि परामर्श गरिएको बताएकी थिइन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पनि यस कुराको जानकारी दिएको छ। इजरायली अधिकारीहरूले गाजामा अझै पनि लगभग २४ जना जीवित बन्धक रहेको बताएका छन्। यसमा एक अमेरिकी नागरिक, एडेन अलेक्ज्याण्डर पनि समावेश छन्। यी बाहेक कम्तिमा ३५ अन्य व्यक्तिहरू पनि समावेश रहेका उनीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *