अग्नि खरेल प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा नियुक्त
उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।

२२ फागुन, काठमाडौं । सरकारले एमाले नेता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
झापाको गौरादह स्थायी घर भएका खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए । विज्ञ सल्लाहकारले राज्यमन्त्री सो सरह सुविधा पाउँछ ।
०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए ।
उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् ।
खरेलले ०४७ सालको संविधान निर्माणमा माधव कुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए ।
नेपाल बार एशोसियसनका पूर्वमहासचिव समेत रहेका खरेलको बार काउन्सिलमा कानुन व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ ।