बसन्तपुरमा ‘चीर’ ठड्याइयो, आजबाट होली सुरु
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ ।

२३ फागुन, काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि फागु सुरु भएको छ। शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभसाइत हनुमानढोकामा चीर ठड्याई फागुको सुरुवात गरिएको हो।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
हनुमान ढोकालगायत पाटन र भक्तपुरमा पनि चीर ठड्याइन्छ। ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा भक्तजन भीड लागेको थियो।
भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनि जुधाएर होली सुरुआत भएको छ। काठबाट बनेको दुई हात लामो भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनिका रूपमा लिने गरिन्छ।
यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।