बाल सुधारगृहमा झडप, ३ जना घाइते
सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकाको अवस्था सामान्य रहेको र उपचार भइरहेको जानकारी दिए ।

२४ फागुन, काठमाडौं । विराटनगरको बाल सुधारगृहभित्र शुक्रबार साँझ दोहोरो झडप हुँदा ३ जना घाइते भएका छन् ।
विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा साँझ पौने ८ बजेतिर झडप भएको प्रहरीले जनाएको छ ।
सुधारगृहका प्रमुख मिलन चौहानले झडपमा परेर घाइते भएकाको अवस्था सामान्य रहेको र उपचार भइरहेको जानकारी दिए । घाइते ३ जना नै २२ वर्षका छन् । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । चौहानका अनुसार घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरु छन् ।
कानुनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, सुधारगृहमा राखिएका बालक अहिले युवा भइसकेका छन् । गृह प्रमुख चौहानले सुधारगृहमा २ पक्षबीच झडप भए पनि कारण खुलिनसकेको बताए ।
‘एक्कासि झडप भयो । ३ जना घाइते भए । तर, घटनाको कारण थाहा छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने । घटनाको अनुसन्धान गर्न मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं खटिएका छन् । चिमरिया नेतृत्वको टोलीले विवाद समाधानका लागि समन्वय गरेको चौहानले बताए ।
विवाद समाधान भएपछि मात्रै घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाउन सम्भव भएको उनको भनाइ छ । उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो तर २ सय ४९ जनालाई राखिएको छ ।