युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
कोठा पुगेर खालिङले आङदम्बेलाई त्यही बोलाएर हत्या गर्ने योजनाका साथ खुकुरी प्रहार गरेको बताइएको छ ।

२७ फागुन, काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल जिल्ला इन्चार्ज खगेन्द्रराज आङ्देम्बेसहित तीनजना माथि गएराति झापाको बिर्तामोडमा धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको छ । प्रहरीले घटनामा संलग्न खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य केही फरार रहेका छन् ।
घटना पश्चात् उनलाई बिर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ‘उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान अघि बढाएका छौँ,’ डीएसपी खड्काले भने, ‘घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी छ ।’
आक्रमणबाट घाइते हुनेहरू जिल्ला इन्चार्ज बिर्तामोड नगरपालिका–४ का अन्दाजी ३७ वर्षीय आङदम्बे, एमाले बिर्तामोड नगर कमिटी सदस्य तथा बिर्तामोड–९ का अन्दाजी ३५ वर्षीय विश्वद्वीप राजवंशी र एमालेकै कार्यकर्ता बिर्तामोड–४ का अन्दाजी ३० वर्षीय अजय खवास रहेका छन् ।
घाइतेहरूको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । इन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य दुई जनाको अर्थोवार्डमा राखेर उपचार भइरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भीर चोट लागेको छ भने अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
घटना बिर्तामोड–४ स्थित कर्णाली सहकारीको कार्यालयदेखि पश्चिमपट्टि ४५ वर्षीय खगेन्द्र खालिङ बस्ने डेराको अगाडि भएको थियो । गएराति पौने १ बजेको समयमा भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टमा उनीहरूले सँगै खाएका थिए । त्यसपछि खगेन्द्र खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठातर्फ लागेका थिए ।
कोठा पुगेर खालिङले आङदम्बेलाई त्यही बोलाएर हत्या गर्ने योजनाका साथ खुकुरी प्रहार गरेको बताइएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको कावेली हाइड्रोपावरसँगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद भइ घटना घटेको जनाइएको छ।