२५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग, लामा भन्छन्- सामाखुसीमा चिनियाँले दिए
एसएसपी रमेश बस्नेतले यसको रुट र पुग्ने गन्तव्य हेर्दा यो रकमको साइनो सुन खरिदसँग जोडिएको

५ चैत, काठमाडौं । टोखामा बरामद २५ करोडको रुपैयाँ बराबरका डलरको ‘नेक्सस’ सुन कारोबारसँग जोडिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
सोमबार राति २५ करोड बराबरका डलर बरामद भएपछि पक्राउ परेका लामाको बयानलाई आधार बनाउँदै प्रहरीले २५ करोडको ‘नेक्सस’ सुनसँग जोडेको हो । रसुवाको केरुङ नाका हुँदै सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गेरर ल्याउने गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले यसको रुट र पुग्ने गन्तव्य हेर्दा यो रकमको साइनो सुन खरिदसँग जोडिएको हुनसक्ने आशंका गर्छन् । ‘अहिलेसम्मको हाम्रो अनुसन्धानले यो डलर सुन खरिदका लागि चीन जाँदै थियो भन्ने देखाएको छ । थप अनुसन्धान हुन बाँकी नै छ,’ एसएसपी बस्नेतले भने ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४३ वर्षीय ‘फुच्चे’ भनिने कुसाङ लामालाई यसअघि पनि ७ किलो सुनसहित अपराध अनुसन्धान कार्यालयकै टोलीले १३ पुस २०७३ मा कलंकीबाट पक्राउ गरेको थियो । त्यतिबेला अपराध अनुसन्धान कार्यालयका एसएसपी सर्वेन्द्र खनाल थिए ।
उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरिएको थियो ।
अहिले फेरि उनै लामा गाडीमै फल्स बटम बनाएर डलर र सुन बोक्ने गरेको दाबी प्रहरी अधिकारीहरू गर्छन् । त्यतिबेला पनि उक्त गाडीका चालक लामा नै थिए ।
प्रहरीका अनुसार २५ करोड रुपैयाँसहित पक्राउ परेका लामा भरिया मात्रै हुन् । लामाले उक्त रकम एक चिनियाँ नागरिकले दिएको दाबी गरेका छन् । ‘सामाखुसीमा ल्याएर एक चिनियाँ नागरिकले रकम गाडीमै दिएका हुन् । त्यसपछि मैले सिटमाथिको सिलिङमा राखेको हुँ,’ चालक लामालाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने ।
त्यसपछि उनले गाडीमा फल्स बटम बनाएर राखेको दाबी छ । तर आफूलाई सामान मात्रै भनेकाले डलर हो वा अरु केही हो भन्ने थाहा नभएको चालकले दाबी गरेको अर्का एक प्रहरी अधिकारी बताउँछन् ।
पक्राउ परेका व्यक्तिले रकमबारे जानकारी नै नरहेको बताए पनि प्रहरी अधिकारीहरू यसको स्रोतबारे पनि अनविज्ञ छन् ।