अस्ट्रेलियाद्वारा पाकिस्तानसँगको टी–२० सिरिजमा अस्ट्रेलियाद्वारा क्लिन स्वीप
३ मंसिर, काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज क्लिन–स्वीप गरेको छ ।
सोमबार भएको तेस्रो खेलमा ७ विकेटको जित निकाल्दै अस्ट्रेलियाले सिरिज ३–० ले जितेको हो ।
पाकिस्तानले दिएको ११८ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका मार्कस स्टोइनिसले २७ बलमा ५ चौका र ५ छक्कासहित ६१ रन बनाए । त्यस्तै जोश इङ्लिसले २७ रन र जेक फ्रेसर मेगर्कले १८ रन बनाए ।
पाकिस्तानका लागि अब्बास अफ्रिदी, शाहीन अफ्रिदी र जहानदाद खानले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा सबै विकेट गुमाउदै ११७ रन बनाएको थियो । बाबर आजमले सर्वाधिक ४१ रन बनाए भने हासिबुल्लाह खानले २४ रन बनाए ।
अस्ट्रेलियाका आरोन हार्डीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । स्पेन्सर जोनसोन र एडम जाम्पाले २–२ विकेट लिए भने जेभियर बार्टलेट र नेथन एलिसले समान १–१ विकेट लिए ।
पहिलो खेलमा २९ रनको जित निकालेको अस्ट्रेलियाले दोस्रो खेलमा १३ रनको जित निकालेको थियो ।