पूर्वमन्त्री र सभासद्को नागरिकता छानबिन गर्न माग
नागरिकतासम्बन्धी परेका उजुरीमध्ये केही उजुरीहरू उपर जिल्ला प्रशासन आफैंले छानबिन गर्ने गरेको छ।

७ चैत, काठमाडौं । झुटा विवरण पेस गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्लामा उजुरी पर्न थालेका छन्। त्यसरी उजुरी पर्नेमा जिल्लाका पूर्वमन्त्रीदेखि सभासद्समेत छन्।
नागरिकतासम्बन्धी परेका उजुरीमध्ये केही उजुरीहरू उपर जिल्ला प्रशासन आफैंले छानबिन गर्ने गरेको छ। केहीलाई प्रहरी कार्यालयमा छानबिनका लागि पठाउने गरिएको छ भने केही गृह मन्त्रालय पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए।
झुटा विवरण पेस गरेर नागरिकता लिएको भन्दै पूर्वमन्त्रीदेखि प्रदेशसभा सभासद्विरुद्ध पनि उजुरी परेका छन्। कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले भारतीय नागरिकतासँगै नेपाली नागरिकता पनि लिएको भन्दै बदरको मागसहित उजुरी परेको जिल्ला प्रशासनले जनाएको छ। कँडेलमाथि भारतीय नागरिकता लिएको भन्दै नेपाली नागरिकता बदरको माग गरिएको छ।
कँडेलमाथि परेको अर्को दोहोरो नागरिकता लिएको भन्ने उजुरीमा भने जिल्ला प्रशासन कार्यालयले पछिल्लो नागरिकता रद्द गरी पुरानैलाई कायम गरेको छ। कँडेलले दोस्रो नागरिकता लिँदा प्रतिलिपि लिनुपर्नेमा पुनः पुरानै विवरणको नयाँ बनाएपछि उनको नागरिकता रद्द भएको हो। विवरण फरक पारी नागरिकता लिएमा पछिल्लोलाई रद्द गरी पहिलो पटक लिएको कायम हुने नागरिकता ऐनमा उल्लेख छ।
त्यस्तै, प्रदेशसभा सदस्य कलवारले लिएको नागरिकतामाथि परेको उजुरीमाथि जिल्ला प्रशासनले कूटनीतिक माध्यमबाट यकिन हुनुपर्ने प्रतिवेदन तयार पारेको छ। जिल्ला प्रशासनको छानबिन समितिले भनेको छ, ‘बैजनाथ कलवारले दोहोरो नागरिकता लिएको भन्ने सम्बन्धमा भारतीय कागजातको आधिकारिकता÷हैसियत एवं निजले भारतीय नागरिकता प्राप्त गरे÷नगरेको बारेमा कूटनीतिक माध्यमबाट यकिन गरी अग्रिम कारबाही हुनुपर्ने देखिन्छ।’ यही विवरणसहित मन्त्रालयमा प्रतिवेदन पठाएको छ भने भारतीय नागरिकता लिएको भन्दै उजुरी परेका कँडेलको पनि मन्त्रालयमा प्रतिवेदन पठाइएको छ। ‘उहाँहरू भीआईपी लेबलको भएकाले नागरिकतासम्बन्धीको प्रतिवेदन माथि पठाइएको छ’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने।