दाङमा प्लाइ उद्योगमा आगलागी, आगो निभाउन हम्मेहम्मे
आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ ।

११ चैत, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका ९ खैरामा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर आगलागी भएको हो ।
प्लाई उद्योगमा लागेको आगो निभाउन हम्मेहम्मे परिरहेको छ । आज बिहानपख करिब २ बजेदेखि सुरु भएको आगलागी अहिले सवा नौ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन कार्यालयको अग्नि नियन्त्रक टोली र स्थानीय आगो निभाउन खटिएका छन् । आगो निभाउन बर्दिया, बाँके र कपिलवस्तु जिल्लाबाट समेत दमकल मगाइएको छ । तर आगो अझै नियन्त्रणमा आएको छैन ।
आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दाङका घोराही, तुलसीपुर र लमहीका तीनवटा दमकलले आगो निभाउन नसकेपछि बाँके, बर्दिया, कपिलवस्तु र रुपन्देहीबाट समेत दमकल मगाइएको बताए ।
‘दाङका तीनवटा, बाँकेका दुईवटा, कपिलवस्तुबाट दुई वटा, बर्दिया र रुपन्देहीबाट समेत एक–एक वटा दमकल झिकाइएको छ,’ प्रजिअ लम्सालले भने ।
आगो बस्तीमा नसरोस् भनेर चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए ।