राजावादी–गणतन्त्रवादी प्रदर्शनका कारण‍ उपत्यकाको यातायात प्रभावित

सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।


१५ चैत, काठमाडौं । गणतन्त्रवादी र राजावादीहरूले काठमाडौं उपत्यकामा आज गर्न लागेको प्रदर्शन सुरु नहुँदै काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ।

समाजवादी मोर्चा नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभाका कारण सो क्षेत्रमा यातायात आवागमन बन्द गरिएको छ। गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् ।

रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै काठमाडौंको तीनकुने, बानेश्वर , माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।

सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङका अनुसार सुरक्षाका लागि २५ सय प्रहरी शुक्रबारका लागि खटाइएको छ ।

यता सशस्त्र प्रहरीले पनि सबै तयारी पूरा भइसकेको बताएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार चैत १५ गते ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुन्छन् । न्यौपानेको भनाइलाई आधार मान्दा सशस्त्र प्रहरीमात्रै साढे १७ सय परिचालन हुने देखिन्छ । सशस्त्रको एक प्लाटुनमा ३५ जनाको फौज हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *