सुरू भयो समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शन
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ ।

१५ चैत, काठमाडौं । आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ । काठमाडौंको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले विरोध सभा गर्दैछन्।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।
राजावादीहरुको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आउने छ । अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल हुँदै आउने छ ।
समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाका कार्यकर्ताहरु बबरमहल, कुपण्डोल, कलंकी, बालाजु लगायतका क्षेत्रमा देखिन्छन् । उनीहरुको जुलुस विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शनीमार्ग पुग्ने छ ।
गणतन्त्रवादी र राजतन्त्रवादीले एकैदिन प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कमाण्डमा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीनकुने-नयाँ बानेश्वर क्षेत्रको मुख्य सडकमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित ड्युटीमा खटिनेबाहेक सो संख्यामा प्रहरी परिचालन गर्न लागिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले बताएका छन्। उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।