मञ्चमा बोल्ने नेताहरूको सूचीमा नाम नभएपछि सभा बहिष्कार, घरमै बसेर टिभीमा हेरौँला: झलनाथ खनाल
मञ्चमा वक्ताकोरूपमा चार नेताले मात्र बोल्ने भएपछि झलनाथ खनालले समाजवादी मोर्चाको सभा बहिष्कार गरेका हुन्।

१५ चैत, काठमाडौं । आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन् । तर र्याली र सभालाई आफ्नो समर्थन रहेको उनले बताए ।
भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न तथा गणतन्त्रको रक्षा गर्न भन्दै समाजवादी मोर्चाले सभा गर्दै छ । सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन् ।
मञ्चमा वक्ताकोरूपमा चार नेताले मात्र बोल्ने भएपछि झलनाथ खनालले समाजवादी मोर्चाको सभा बहिष्कार गरेका हुन्। खनाल भन्छन्, ‘मञ्चमा बोल्ने नेताहरूको सूचीमा चार जना मात्र हुने भएपछि जुलुसमा जानसक्ने अवस्था भएन । घरमै बसेर टिभीमा हेरौँ भन्ने लाग्यो। ’
समाजवादी मोर्चाको सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव विप्लव र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्दै छन् ।