रवीन्द्र र धवलमाथि राज्यविरुद्धको कसुरमा मुद्दा
उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो ।

१७ चैत, काठमाडौं । राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो ।
ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ ।
सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुसार, अदालतमा पेस गरेर म्याद थप हुने उनले बताए ।