ट्रम्पले चीनमाथि लगाए १०४ प्रतिशत कर
अब चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४% आयात शुल्क लाग्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन्। अब चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ। यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४% आयात शुल्क लाग्नेछ।
ट्रम्पले मंगलबार ह्वाइट हाउसमा भने, ‘भन्सार शुल्कको आलोचना गर्ने जो कोही छन्, उनीहरू बेइमान र धूर्त हुन्। जब अमेरिकाले ९० हजार कारखाना गुमायो, तब तिनीहरूले केही सोचेनन्।’
उनले भने, ‘हामी भन्सार शुल्कबाट धेरै पैसा कमाइरहेका छौं। अमेरिका दैनिक २ अर्ब डलर भन्दा बढी कमाइरहेको छ। धेरै देशहरूले हामीलाई हरेक तरिकाले लुटे, अब लुट्ने पालो हाम्रो हो।’
मिडिया रिपोर्ट अनुसार, सन् २०२४ सम्म अमेरिका भन्सार शुल्कबाट वार्षिक १०० अर्ब डलर कमाइरहेको थियो।
आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए। त्यसपछि जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे चीनमा थप ३४% कर लगाइयो। अहिले थप ५०% भन्सार महसुल थपेपछि कुल कर १०४% पुगेको छ।
ट्रम्पले सोमबार नै यदि चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा चीनमाथि थप ५० प्रतिशत कर लगाउने बताएका थिए।
ट्रम्पको भनाइको जवाफमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ‘ब्ल्याकमेल’ स्वीकार नगर्ने र यसको विरुद्ध अन्त्यसम्म लड्ने बताएको छ।