प्रधानमन्त्री ओलीले बजेट तयारीबारे आज मन्त्री र सचिवहरूसँग छलफल गर्ने
सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

२८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आगामी आर्थिक वर्षको बजेट तयारीबारे मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिनेछन्। मन्त्रीहरुले आगामी बजेटको बारेमा सरोकारवाला निकायसँग छलफल गरिरहेका छन्।
सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट लेख्ने कामका लागि बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरिसकेको छ। सदस्यहरूमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्।
बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरू कार्यक्रमहरूको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्यसमितिको जिम्मेवारी रहेको छ।
सरकारले नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने वर्षे अधिवेशन बोलाउने तयारी गरिरहेको छ। गत चैत १९ गते संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो।