घुम्न गएका सुदीप बाकसमा फर्किए, आजै अन्त्येष्टि गरिने
शव ल्याइपुर्याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो ।

११ वैशाख, बुटवल । भारत जम्मुकश्मिरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल–११ कालिकानगरका सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइपुर्याइएको छ । सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए।
आज बिहीबार बिहान सात बज्नै लाग्दा सुदीपको डेथ बडी बेलहिया नाका ल्याइएको थियो । त्यहाँबाट भारतीय पक्षले सुरक्षाकर्मीको रोहवरमा सुदीपका आफन्तलाई शव जिम्मा लगाएको थियो । त्यसपछि शव एम्बुलेन्समा राखेर बुटवल–११ कालिकानगरको मनकामनापथस्थित घरमा ल्याइएको थियो ।
शव ल्याइपुर्याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो । सुदीप नरहेको खबरले टोलका बासिन्दा र आफन्तजन मंगलबारदेखि नै शोकमा थिए । शव घर ल्याइपुर्याउँदा आफन्त र छिमेकी भक्कानिए ।