पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।


११ वैशाख, काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको छ ।

यी हुन् भारत सरकारले गरेका पाँच ठूला निर्णय

१.भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज

२.अटारी सीमानाका बन्द । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन ।

३. पाकिस्तानी नागरिकको भिसा रद्द ।

४.नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय ।

५.हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने ।

आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

सिन्धु जलसम्झौता के हो ?

विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सन् १९६० सेप्टेम्बर १९ मा सिन्धु जल सम्झौता भएको थियो । सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चिनाब नदीहरुको पानी बाँडफाँट सम्बन्धी यो एक ऐतिहासिक सम्झौता हो । जवाहरलाल नेहरुको पालामा भएको यो सम्झौता दुई देशका जलस्रोत व्यवस्थापनलाई लिएर विश्वकै सफल द्विपक्षीय सम्झौतामध्ये एक मानिन्छ ।

यो सम्झौता अनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ । यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने, बाँध बाँध्ने वा अन्त कतै मोड्न सक्छ, जसले पाकिस्तानको कृषि, पिउने पानी र उद्योग कलकारखानामा असर पुग्न सक्छ ।

त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ । यसले दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *