पोपको रूपमा आफ्नो एआई फोटो सेयर गरेपछि ट्रम्पको आलोचना
ट्रम्पले पोस्ट गरेको तस्बिरमा सेतो पोसाक र टोपी लगाएका छन्। उनको घाँटीमा ठुलो क्रस छ भने गम्भीर तरिकाले एउटा औँला उठाएर उभिरहेका छन्।

अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्रामबाट पोपको रूपमा डोनाल्ड ट्रम्पको एआई तस्बिर सार्वजनिक गरेपछि क्याथोलिक समूहहरूले कडा आपत्ति जनाएका छन्।
यो तस्बिर क्याथोलिकहरूले अप्रिल २१ मा पोप फ्रान्सिसको मृत्युमा शोक मनाइरहेका समयमा सेयर गरिएको हो।
ट्रम्पले पोस्ट गरेको तस्बिरमा सेतो पोसाक र टोपी लगाएका छन्। उनको घाँटीमा ठुलो क्रस छ भने गम्भीर तरिकाले एउटा औँला उठाएर उभिरहेका छन्।
न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पले आफूहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको छ। केही दिन अघि ट्रम्पले ठट्टा गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु।’
ट्रम्प यस्ता आरोपहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति होइनन्। एक वर्षअघि पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा भएको र्यालीमा ‘क्रसको चिन्ह’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए।
भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्बिरमा कुनै टिप्पणी गरेका छैनन्। पोपको उत्तराधिकारीको निर्वाचनको प्रक्रिया बुधबारदेखि भ्याटिकनमा सुरु हुँदैछ।
न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले भनेको छ, ‘यस तस्बिरमा केही हास्यास्पद छैन, श्रीमान् राष्ट्रपति। हामीले भर्खरै हाम्रा प्रिय पोपलाई गाड्यौं र अब एउटा गम्भीर चुनावी प्रक्रिया सुरु हुन लागेको छ। कृपया हाम्रो मजाक नगर्नुहोस्।’
केही समय अघि मात्रै पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको थियो। रोमन क्याथोलिक चर्चले नयाँ प्रमुख नियुक्त गर्न लागेको छ।