काभ्रेका बाढीपहिरो पीडितलाई अस्थायी घर बनाउन पहिलो किस्ता वितरण

करिब ७ महिनापछि मनसुनजन्य विपद्‌बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन थालिएको छ ।


२४ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित ९ पालिकाका २ हजार ८४९ बाढीपहिरो पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता रकम वितरण सुरु भएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेका १३ पालिकामध्ये ९ पालिकाका बाढीपहिरो पीडितलाई घर बनाउन पहिलो किस्ता २५ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

२५ हजार रुपैयाँका दरले वितरण गर्न २ हजार ८ सय ४९ बाढीपहिरो पीडित घरपरिवारका लागि ७ करोड १२ लाख २५ हजार रुपैयाँ निकासा भएको प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार सबैभन्दा बढी नमोबुद्ध नगरपालिकामा ८ सय २४, पनौती नगरपालिकामा ६ सय ३४, रोशी गाउँपालिकामा ५ सय ४८, चौरी देउराली गाउँपालिकामा २ सय ८०, बेचानचोक गाउँपालिकामा २ सय ३९, मण्डनदेउपुर नगरपालिकामा १ सय ३३, पाँचखाल नगरपालिकामा ८८, धुलिखेल नगरपालिकामा ८६ र महाभारत गाउँपालिकामा १७ घर प्रभावितलाई उक्त रकम पठाइएको हो ।

पहिलो चरणमा १० पालिकाका लागि रकम आए पनि खानीखोला गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठकबाट लाभग्राहीको लिस्ट पठाएपछि मात्र रकम पठाउने जिल्ला प्रशासन कार्यालय काभ्रेले जानकारी दियो ।

अस्थायी आवासका लागि बनेपा नगरपालिका, तेमाल र भुम्लु गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन समितिले गर्नुपर्ने निर्णय नगरी सिधै विवरण मात्रै भरेकाले अस्थायी आवासको पहिलो किस्ता बापतको रकम निकासा नभएको हो ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार गृहमन्त्रालयबाट ४ वैशाखमा रकम आउने बित्तिकै विपद् समितिको बैठक बसेर ७ वैशाखमा रोशी, चौंरी देउराली र मण्डनदेउपुरमा, ८ वैशाखमा बेथानचोक र महाभारत र पनौती, ११ वैशाखमा नमोबुद्ध र पाँचखालमा र १६ वैशाखमा धुलिखेलमा रकम निकासा भएको थियो ।

करिब ७ महिनापछि मनसुनजन्य विपद्‌बाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आकलन थालिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाले संयुक्त रूपमा भएको आकलनको गृहमन्त्री रमेश लेखकले बस्तीमै पुगेर सुरुवात गरेका थिए ।

त्यस्तै रकम प्राप्त भएपछि रोशी र बेथानचोक गाउँपालिकाले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बापत २५ हजार वितरण सुरु गरेका छन् ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले पहिलो किस्ताको रकम सिधै लाभग्राहीको खातामा हालिएको जानकारी दिए ।

‘अझै खाता नम्बर छुटेका र अन्य समस्या भएमा सम्बन्धित वडा वा गाउँपालिकाको विपद् हेल्प डेस्कमा सम्पर्क गर्न गाउँपालिकाले भनेको छ,’अध्यक्ष लामाले भने ।

अस्थायी आवास निर्माण गर्न दिइने अर्को २५ हजारको किस्ता भने अस्थायी आवास निर्माण भइसकेपछि उपलब्ध गराउने पालिका अध्यक्ष लामाको भनाइ छ ।

त्यस्तै बेथानचोक गाउँपालिकामा क्षतिबाट विस्थापित परिवारका लागि प्राप्त अस्थायी आवास बापतको पहिलो किस्ताको २५ हजार रकम निकासा भएको छ ।

गाउँपालिका भित्र विपद्‍बाट प्रभावित भई अस्थायी आवास निर्माणका लागि सूचना प्रणालीमा प्रविष्ट भएका २ सय ३९ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बापत प्रति व्यक्ति २५ हजारका दरले सम्बन्धित लाभग्राहीका खातामा निकासा पठाइएको बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए ।

सबै पालिकामा पहिलो किस्ता बापतको रकम मात्र पठाइएको छ । दोस्रो किस्ता बापतको रकम पहिलो किस्ता लिएर अस्थायी आवास निर्माण गरेको प्रमाण पेस गरेपछि संघीय सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत पालिकाहरुमा पठाइने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

अस्थायी आवासका लागि पहिलो किस्ता रकम लाभग्राहीमा पुगे पनि जिल्लामा स्थानान्तरण गर्नुपर्ने ६८ घरपरिवार अन्योलमा छन् ।

जिल्लाका खानीखोलामा ५, मण्डनदेउपुरमा १३, चौंरीदेउरालीमा २३, पाँचखालमा १३, रोशीमा ९ र बेथानचोकमा ५ घर परिवार स्थानान्तरणका लागि आवेदन परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *