सकियो चीन र अमेरिकाबीचको व्यापार युद्ध, जेनेभामा सम्झौता

अमेरिका र चीनबीच केहीसमयदेखि व्यापार युद्ध चलिरहेको थियो। यो सम्झौतालाई दुबै देशको लागि ठूलो जित मानिएको छ। 


२९ वैशाख, काठमााडैं । स्विट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ। जेनेभामा दुई दिनको वार्तापछि दुई देशबीच सम्झौता भएको हो।

अमेरिका र चीनबीच केहीसमयदेखि व्यापार युद्ध चलिरहेको थियो। यो सम्झौतालाई दुबै देशको लागि ठूलो जित मानिएको छ।

ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्ति निकालेर चीनसँग व्यापार सम्झौता भएको घोषणा गरेको हो। यद्यपि ह्वाइट हाउसले यसको विवरण भने दिएको छैन।

चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गरिने बताए। यसैबीच चिनियाँ उपवाणिज्यमन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने बताएका छन्।

अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा वर्णन गरे भने चिनियाँ अधिकारीहरूले दुई पक्षबीच महत्त्वपूर्ण सहमति भएको र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएको बताए।

गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५% कर लगाएको थिए। त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५% सम्मको कर लगाएको थियो। जसका कारण विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार लगभग बन्द भएको थियो।

चीनसँगको मतभेद त्यति ठूलो थिएन जति उसले सोचेको थियो : अमेरिका

‘दुई पक्षहरू धेरै छिटो सम्झौतामा पुग्न सक्षम हुनुले के देखाउँछ भने मतभेदहरू पहिले सोचेजस्तो ठूलो थिएनन्,’ अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकारलाई भने।

अमेरिका र चीन दुवैले १४५% अमेरिकी कर र १२५% चिनियाँ कर घटाउने बारेमा कुनै सम्झौता भए नभएको भने उल्लेख गरेनन्।

एक हप्ता अघि ट्रम्पले चीनमाथि लगाइएको कर घटाउन सक्ने संकेत गरेका थिए। उनले हालको भन्सार दर धेरै भएर विश्वका दुई ठूला अर्थतन्त्रहरूले एकअर्कासँग व्यापार गर्न बन्द गरेका स्वीकारेका थिए।

ट्रम्पले एनबीसीको एक कार्यक्रममा आफूले जुनसुकै बेला चीनमाथिको कर घटाउन सक्ने बताएका थिए।

ट्रम्पले चीनको अर्थतन्त्र अहिले समस्यामा रहेको पनि बताएका थिए। त्यहाँको कारखाना सञ्चालन २०२३ पछि सबैभन्दा खराब अवस्थामा आएको र निर्यात अर्डरमा पनि उल्लेखनीय गिरावट आएको उनले जनाएका थिए।

ट्रम्पको पुन: निर्वाचित भएपछि चीनसँग पहिलो भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि यो बैठक वरिष्ठ अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरू बीचको पहिलो प्रत्यक्ष वार्ता थियो। ट्रम्पले पदभार ग्रहण गर्ने बित्तिकै उनले विश्वभर कर युद्ध सुरु गरे। उनले संयुक्त राज्य अमेरिकामा फेन्टानिल संकटलाई राष्ट्रिय आपतकाल घोषणा गरे र फेब्रुअरीमा चिनियाँ सामानहरूमा २०% कर लगाए।

त्यसपछि अप्रिलमा ट्रम्पले चिनियाँ आयातमा ३४% पारस्परिक भन्सार कर लगाए। त्यसपछि लगाइएका भन्सार शुल्कका कारण भन्सार दरहरू तीन अंकमा धकेलिए जसले गर्दा लगभग ६०० अर्ब डलरको द्विपक्षीय व्यापार भर्चुअल रूपमा ठप्प भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *