१५ जेठपछि हुने शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।

३० वैशाख, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न चेतावनी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्ने बताएका हुन् ।
‘ब्रह्मलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ,’ उनले भने, ‘आन्दोलन शान्तिपूर्ण हुनेछ । हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं, देशको समृद्धि र प्रगति चाहन्छौं ।’
संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गर्दा हिंसात्मक आन्दोलनको नाम दिएर दबाउने प्रयास नगर्न उनको चेतावनी छ । त्यस्तो दुष्प्रयास भए असजिलो परिस्थिति निर्माण हुने थापाले बताएका छन् ।
‘हामी राष्ट्रियता बलियो बनाउन चाहन्छौं । प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिँदैछ । त्यो चिर्दै अघि बढ्छौं,’ अध्यक्ष थापाले भने, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ । दमन गर्न तर्फ अग्रसर भई जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुनेछ ।’