लिग २ मा राम्रो प्रदर्शन गर्ने नेपालको लक्ष्य
यो टिमले विगतको समयदेखि देखाएको आशा, विश्वास र भरोसालाई कायम राख्दै राम्रो प्रदर्शन गरेर फर्किनेछ भन्नेमा हामी विश्वस्त छौं’, उनले बिदाई कार्यक्रममा भने।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग २ मा आफ्नो राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
नेपाली राष्ट्रिय टिमले स्कटल्यान्डमा ४ वटा लिग २ अन्तर्गतको खेल खेल्नेछ। नेपालले हालसम्म आइसीसी लिग २ को नयाँ श्रृखलामा राम्रो नतिजा हात पार्न सकेको छैन। यसअर्थमा यो सिरिज नेपालका लागि निकै महत्वपूर्ण हुनेछ।
नेपाली राष्ट्रिय टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय कार्यलयमा राखी बिदाइ गरेको थियो। बिदाइका क्रममा क्यानका सचिव पारस खड्काले नेपालले टिमको अनुकूलको नतिजा निकाल्ने उनको विश्वास रहेको बताए।
‘स्कटल्यान्डको सिरिज हुनेछैन। यो टिमले विगतको समयदेखि देखाएको आशा, विश्वास र भरोसालाई कायम राख्दै राम्रो प्रदर्शन गरेर फर्किनेछ भन्नेमा हामी विश्वस्त छौं’, उनले बिदाई कार्यक्रममा भने।
बिदाइ कार्यक्रममा प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहित पौडेल उपस्थित थिएनन्। प्रशिक्षक स्टुअर्ट ल पारिवारिक कारणले यसअघि नै इङ्ल्यान्ड प्रस्थान गरिसकेका छन्। उनले उतैबाट नेपाली टिमसँग मिसिनेछन्। कप्तान रोहित पौडेल भने परीक्षा भएका कारण बिदाइमा समावेश हुन पाएका थिएनन्।
नेपालका लागि स्कटल्यान्ड सिरिज कठिन
नेपालले लिग २ को १२ खेल खेलिसक्दा अंक तालिकाको पुछारमा रहेको छ। हाल नेपाली टिमले अंक तालिकामा आफ्नो बढुवा चाहन्छ। तर सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल भने यो सिरिजबाट जित र अंकभन्दा पनि खेलमा फोकस हुनु पर्ने बताउँछन्।
बिदाइका क्रममा पत्रकारसँग बोल्दै मल्ल भन्छन्, ‘हामीले अहिले नै अंकको बारेमा सोच्नु पर्ने बेला भएको छैन तर हामीले यो सिरिजबाट २ देखि ३ वटा खेल जित्न सक्यौं भने सहज हुनेछ।’
स्कटल्यान्डको पिच र कन्डिसनलाई फोकस गरेर यस पटकको टोली घोषणा गरिएको प्रशिक्षक मल्लले बताए। ‘यस पटक हामीले मिडियम पेसर बलरहरुलाई धेरै राखेका छौं। उनीहरूलाई त्यो कन्डिसनमा अलि सहज हुने जस्तो लागेर हामीले टिम बनाएका हौं।’
नेपाली राष्ट्रिय टिममा हाल नन्दन यादवले एकदिवसीय राष्ट्रिय टिममा मौका बनाएका छन्। उनले लगत्तै सकिएको हङकङ सिरिजमा नेपालको लागि टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले मौका पाएको खेलमा राम्रो ब्याटिङ प्रदर्शन पनि गरे। यसै क्रममा प्रशिक्षक मल्ल भन्छन्, ‘हाम्रो बलरहरु पनि ब्याटिङ क्षमता राख्छन्। जसका कारण हामीलाई सहज हुनेछ।’
उपकप्तान रहेका दिपेन्द्र सिंह ऐरी भन्छन्, ‘प्राक्टिस राम्रो भएको छ, नयाँ कोच पनि आउनुभएको छ । स्कटल्याण्डमा अलि गाह्रो पिच हुन्छ तर हामी शत प्रतिशत दिनेछौं’ उनले भने ।
आइसीसी विश्वकप लिग २ मा नेपालले १२ खेल खेल्दा जम्मा २ खेलमा मात्रै जित निकाल्न सकेको छ। २ खेल नतिजाबिहीन बन्दा नेपालसँग कुल ६ अंक रहेको छ।
लिग २ खेल्ने नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी –उपकप्तान),आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल