इन्दुको शानदार ब्याटिङमा नेपाल हारबाट जोगियो
७ ओभरमा ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
काठमाडौं : आइसीसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत बिहीबार भएको खेलमा नेपालले बहराइनलाई हराएको छ।
नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेको हो। डकवर्थ लुइस स्ट्रेन(डीएलएस)मार्फत नेपालले बहराइनलाई पराजित गरेको हो। वर्षाको कारण ७ ओभरमा खेल घटाइँदा नेपालले बहराइनमाथि जित दर्ता गरेको हो।
७ ओभरमा ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २४ रनमा अविजित रहिन्। उनले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। पूजा महतोले १३ रन बनाइन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। बहराइनका लागि पवित्रा सेट्टीले ३ विकेट लिइन्।
त्यसअघि ब्याटिङ गरेको बहराइनले १२.४ ओभर ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा ७६ रन बनाएको थियो। बहराइनका लागि ओपनर रसिका रोड्रिगोले सर्वाधिक २४ रन बनाइन्। कप्तान दीपिका रासाङ्गिकाले २३ रन बनाइन्।
ओपनर थरङगा गजनायकेले १२ रन बनाइन्। नेपालले ३ विकेट नै रनआउट गराउँदै लिएको थियो। हाल नेपालले समूह चरणको ४ खेल सक्दा २ जित र १ हार र एक खेलमा अंक बाड्दा ५ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहेको छ।
अब समूह ‘सी’ को अन्तिम खेल हङकङ र बहराइनबीच हुनेछ। अब यो खेलको नतिजामा नै सुपर थ्रीको टुंगो लाग्नेछ। यदि बहराइनले हङकङलाई हराएको खण्डमा मात्र नेपाल सुपर थ्रीमा पुग्ने छ। वर्षाका कारण खेल रद्द भएमा वा हङकङले जितेमा नेपाल समूह चरणबाटै बाहिरिने छ।