एप्पलका सीईओलाई ट्रम्पको आग्रहः भारतमा आईफोन उत्पादन नगर्नुहोस्

ट्रम्पले भारतलाई विश्वका सबैभन्दा बढी भन्सार शुल्क लगाउने देशहरूमध्ये एक हो भनेका छन् ।

१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा आईफोन उत्पादन नहोस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् ।

तीन दिने मध्यपूर्व भ्रमणको क्रममा विहीबार कतारको राजधानी दोहामा रहेका उनले उक्त चाहना व्यक्त गरेका हुन् ।

उनले आइफोन निर्माता कम्पनी एप्पलका सीईओ टिम कुकसँग भारतमा आइफोन उत्पादन नगर्न आग्रह गरेका उल्लेख गरेका छन् । ट्रम्पले भनेका छन्, ‘भारतलाई आफ्ना फाइदाको ख्याल आफैं गर्न देऊ।’

भारत र अमेरिकीबीच भन्सार शुल्कको विषयमा छलफल भइरहेको बेला ट्रम्पले उक्त टिप्पणी गरका हुन् । केही दिनअघि एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता विस्तार गर्न चाहेको खबर सार्वजनिक भएको थियो ।

मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले हिजो टिम कुकसँग कुरा गरेँ। मैले भनेँ, टिम, हामी तिमीलाई धेरै राम्रो व्यवहार गरिरहेका छौं। तिमी ५०० अर्ब डलरको कम्पनी बनाउँदै छौं, तर तिमी भारतमा कारखाना खोल्दैछौ भन्ने मैले सुनें । म तिमी भारतमा (आइफोन) बनाऊ भन्ने चाहन्न।’

ट्रम्पले भारतलाई विश्वका सबैभन्दा बढी भन्सार शुल्क लगाउने देशहरूमध्ये एक हो भनेका छन् । ‘तिमी भारतलाई सहयोग गर्न चाहन्छौ तर त्यहाँ सामान बेच्न गाह्रो छ,’ उनले कुकसँगको संवाद उद्धृत गर्दै भने, ‘यद्यपि भारतले हाम्रो सामानमा भन्सार शुल्क नलगाउने बाचा गरेको छ ।’

ट्रम्पले थपे, ‘तिमीले चीनमा बनाएका कारखानालाई हामीले वर्षौंसम्म सहन गर्‍यौं। अब हामी चाहन्नौं कि तिमी भारतमा बनाऊ। भारत आफैंले आफ्नो ख्याल गर्न सक्छ।’

कुकले आईफोन अमेरिकामै उत्पादन गरून् भन्ने आफ्नो चाहना ट्रम्पले लुकाएनन् । उनले भने, ‘उनीहरू (भारतीयहरू) निकै राम्रो गर्दैछन्। हामी आईफोन अमेरिका भित्र नै उत्पादन होस् भन्ने चाहन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *