किन धमाधम ईभी थुपार्दैछन् व्यापारी ?

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी ईभी आइरहेको छ, त्यसरी नै आइरहने हो भने गाडी राख्न नयाँ ठाउँ खोज्नुपर्छ ।

४ जेठ, काठमाडौं । अहिले (ईभी) गाडी राख्ने ठाउँ छैन । केही समययता ह्वात्तै बढेको विद्युतीय सवारीसाधन (ईभी) आयात संख्याले भन्सार कार्यालय भरिभराउ छ ।

भन्सार कार्यालयहरूका अनुसार अहिले जसरी ईभी आइरहेको छ, त्यसरी नै आइरहने हो भने गाडी राख्न नयाँ ठाउँ खोज्नुपर्छ । रसुवा, तातोपानी र भैरहवा नाकामा पछिल्लो समय ईभी आयात अत्यधिक बढेको छ ।

‘नयाँ ब्रान्डदेखि पुराना र चलेका ब्रान्डसम्मका गाडी आएर थुप्रिएका छन् । फागुनदेखि नै गाडी ह्वात्तै बढेको हो । ईभी मंसिरदेखि माघसम्म ठिकै थियो, फागुनमा अलि थपियो, चैतबाट २ गुणा बढेको छ,’ एक भन्सार अधिकृत भन्छन् ।

सुक्खा बन्दरगाह व्यवस्थापन गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भन्सार बढ्ने हल्लाले ईभी आयात थुप्रिएको बताउँछन् । ‘फागुनयता ईभी आयात ह्वात्तै बढेको छ । धेरै गाडी अहिले पनि आउँदैछन्,’ गजुरेल भन्छन् ।

गजुरेलका अनुसार चोभार सुक्खा बन्दरगाहमा मात्रै शुक्रबारसम्म ९ सय ५० युनिट ईभी थन्किएको छ ।

‘अहिले भन्सार कार्यालयहरू ईभीले भरिभराउ छ । व्यवसायीले धमाधम गाडी भित्र्याउँदा राख्ने ठाउँ नै अभाव हुन थालिसक्यो,’ उनले भने ।

व्यवसायीले फाइदा लिन खोज्दा गाडी आयात बढ्यो

अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका एक पदाधिकारीका अनुसार अहिले गाडी आयात हुनुको कारण भन्सार बढ्ने हल्लामात्र नभई चीनमा ईभीको भाउ घट्नु पनि हो ।

‘नेपालमा भन्सार बढ्ने हल्ला छ भने अर्कातिर चीनमा ईभीको भाउ घटिरहेको छ,’ ती पदाधिकारीले भने, ‘चीनमा उत्पादक कम्पनीहरू बढेको छ, चर्को प्रतिस्पर्धा छ । ब्याट्री, प्रविधि पनि आधुनिक भइरहेको छ, त्यसले गर्दा थोरै भए पनि गाडीको भाउ घटेको छ । यही बेला भन्सार बढ्ने हल्ला पनि छ । त्यसले गर्दा ईभी आयात बढेको हो ।’

नेपालमा बिक्री गरिरहेका कम्पनीले अहिले बुकिङ लिन मानिरहेका छैनन् । गाडी शोरुममा भए पनि अहिले गाडी छैन भन्दै खासै बिक्री गरिरहेका छैनन् । केहीले पहिले बुकिङ भएको गाडी बेचिरहे पनि नयाँ बुकिङ लिन नमानेको उपभोक्ता बताउँछन् ।

‘तपाईंले खोजेको गाडी अहिले छैन, केही समयमा आउँछ बरु अग्रिम बुकिङ गरौं भनिरहेका छन्, तर अहिलेकै रेटमा आउँछ कि आउँदैन भन्ने फिक्स्ड गरेका छैनन् । यो सबै भन्सार कर बढ्यो भने नयाँ मूल्यमा धेरै मार्जिन खाएर बेच्न पाइन्छ भन्ने हो,’ एक उपभोक्ता भन्छन् ।

नेपालमा गाडी आयातर्कताहरू उक्त आयोगको सुझाव अनुसार सरकारले ईभीको भन्सार कर केही न केही बढाउन सक्ने शंकाले अहिले धमाधम गाडी आयात गरिरहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *