काठमाडौंको गोकर्णेश्वरमा युवकको हत्या, ५ जना पक्राउ

नयाँपाटीस्थि एक किराना पसलमा बसिरहेका बेला उनीमाथि समूहले आक्रमण गरेको थियो ।

६ जेठ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछापको सुनापती गाउँपालिका–३ का २९ वर्षीय प्रवीण तामाङ, सर्लाहीको बागमती गाउँपालिका–३ का २३ वर्षीय समीर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकको इन्द्र्रावती गाउँपालिका–६ का २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेको चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ छन् ।

उनीहरूलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो । यो समूहले ३० वैशाखको राति ९ बजेतिर ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या गरेको आरोप छ ।

नयाँपाटीस्थि एक किराना पसलमा बसिरहेका बेला उनीमाथि समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले बताए ।

प्रहरीले पक्राउ परेकाहरूलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *