बाबुराम भट्टराईले बोल्दाबोल्दै बीचमै कार्यक्रमस्थल छाडेर निस्किए
विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए।
काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुराउनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेना गरी दुईथरी सेना रहेको र उनीहरुको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए।
उनले विश्वमा भएका द्वन्द्वमा हजारौ लाखौं मारिए पनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे। तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्ति प्रक्रियालाई टुङ्गाउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनको भनाइ छ।
विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनुपरेको थियो।