ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई थुनामा पठाउन आदेश
कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो ।
१२ जेठ, काठमाडौं । कास्की जिल्ला अदालतले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो ।
सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यसअघि जिल्ला कारागार बागलुङमा रहेका नेपालीलाई आइतबार पोखरा झिकाएर बयान गराइएको थियो ।
बयान सकिएसँगै सोमबार बेलबासेको इजलासले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा हरिबहादुर खत्रीसहित १४ जनाको उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा चलाएको थियो । उक्त मुद्दामा नेपालीसहित १५ जनालाई विपक्षी बनाइएको थियो । नेपाली हाल बागलुङ जिल्ला कारागारमा छन्।
नेपालीले बागलुङमा मुख्य कार्यालय र पोखरामा शाखा रहेको इमेज सहकारीमा जम्मा गरिएको दुई अर्बभन्दा बढी बचत रकम अपचलन गरेको आरोप लागेको छ।
नेपाली २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट ढोरपाटनको मेयर पदमा विजयी भएका थिए ।