सिन्धुपाल्चोकको खकुन्डोलमा पहिरो जाँदा सवारी साधन र घरमा क्षति
माथिबाट ठूला चट्टान झर्दा स्थानीय साङ्बो शेर्पा र पाल्देन शेर्पाको घरभित्र ढुंगा पुगेर क्षति पुगेको प्रहरी निरीक्षक राईले बताए ।
सिन्धुपाल्चोक : नेपाल चीन जोड्ने उत्तरी तातोपानी नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित खकुन्डोलमा पहिरो जाँदा सवारी साधन र घरमा क्षति पुगेको छ । पहिरोले पुरिँदा दुई बोलेरोसहित केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार माथिल्लो भेगबाट खसेको सुख्खा पहिरोले भोटेकोसी– ४ मा पार्किङ गरेका दुई बोलेरोसँगै केही घरमा क्षति पुगेको हो । बा १८च८६१७ नम्बरको बोलेरो पूर्णरूपमा ध्वस्त भएको र बा ०३०च७८७४ नम्बरको बोलेरोमा आंशिक मात्र क्षति पुगेको प्रहरीले जनाएको हो ।
माथिबाट ठूला चट्टान झर्दा स्थानीय साङ्बो शेर्पा र पाल्देन शेर्पाको घरभित्र ढुंगा पुगेर क्षति पुगेको प्रहरी निरीक्षक राईले बताए । ‘दुई घरमा सामान्य क्षति पुगेको छ,मानवीय क्षति भने छैन,’उनले भने । बर्खाअघि बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकमा पहिरो खस्न थालेपछि प्रहरीले सतर्कता अपनाएर आउजाउ गर्न कडाइ गरेको प्रहरीले जनाएको छ ।
नाका नजिकै कोप्लाङमा सडक भासिएपछि तातोपानी नाका एक साताअघि सूचारु गरिएको थियो ।