बजेट घोषणा पछिको सेयर बजारमा होटल र लगानी सेक्टर उचालिए

होटल तथा पर्यटन २.३९ तथा लगानी २.२८ प्रतिशत बढे ।

काठमाडौं : बजेटपछिको पहिलो सेयर कारोबारमा नेप्से परिसूचक बढेको छ।  नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा पुगेको छ। सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएको हो। जेठ १६ गते शुक्रबार परेकाले कारोबार भएन।

यो साताको पहिलो कारोबार दिन आइतबार उपत्यकामा सार्वजनिक बिदा भएकाले कारोबार हुन सकेन। त्यसपछि खुलेको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको हो।

होटल तथा पर्यटन २.३९ तथा लगानी २.२८ प्रतिशत बढे । यी दुई सेक्टर उच्च दरमा बढ्नुमा बजेटको आवश्वासन प्रमुख कारण हो । होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर छुट दिने बजेटको घोषणा छ ।

त्यस्तै लगानी सेक्टरका सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने व्यवस्था बजेटले उल्लेख गरेको छ ।

आज विकास बैंक ०.२९, फाइनान्स ०.१८, जीवन बीमा ०.२३ र अन्य ०.३६ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.५९, हाइड्रोपावर ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.१६ तथा व्यापार ०.३५ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ८.३१, न्यादी हाइड्रोपावरको ७.२७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ६.३५ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको मूल्य ६.४५ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३.२० तथा विन नेपाल लघुवित्तको ३.०४ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल र बुटवल पावर क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *