इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला

युद्ध चर्किएका कारण खतराको संकेत स्वरुप साइरन बज्नासाथ बंकरमा लुक्ने गरेको कोइरालाले बताएका छन् ।

२ असार, विराटनगर । इजरायल र इरानबिच युद्ध चलिरहँदा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला यतिवेला इजरायलमा छन्। इजरायलको पराराष्ट्र मन्त्रालयले २६ जेठदेखि आयोजना गरेको कृषिसम्बन्धी तालिम कार्यक्रममा सहभागी हुन मेयर कोइराला इजरायल पुगेका हुन्। बेमौसमी फलफूलको उत्पादन र हरियाली विकाससँग सम्बन्धित तालिम आगामी ६ असारसम्मका लागि तोकिएको छ।

सो तालिम कार्यक्रम निर्वाध रूपमा चलिरहेको र आफू सुरक्षित रहेको मेयर कोइरालाले बताए। ‘म अहिले पनि क्लास लिइरहेको छु। यहाँ कुनै आत्तिनुपर्ने अवस्था छैन,’ आइतबार दिउँसो नयाँ पत्रिकासँगको टेलिफोनमा मेयर कोइरालाले भने।

युद्ध चर्किएका कारण खतराको संकेत स्वरुप साइरन बज्नासाथ बंकरमा लुक्ने गरेको कोइरालाले बताएका छन् । उनी नेपालबाट जाने एक्लो जनप्रतिनिधि हुन् । मेयर कोइरालाले आफू ‘सेफाइम’ भन्ने स्थानमा सुरक्षित रहेको जानकारी दिएका छन् । यो सहर राजधानीबाट ३० किलोमिटर दुरीमा छ ।

कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरानसँगको तनाव बढेपछि विमानस्थल बन्द छन् । विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।

इरान इसराइल युद्धका कारण उतै रोकिएका कोइरालालाई परराष्ट्रमन्त्री आरजु राणा देउवा र इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले टेलिफोन गरेर अवस्था बुझेका थिए ।

इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डितले मेयर कोइराला सुरक्षित रहेको जानकारी दिए । ‘मैले मेयरसापलाई फोन गरेको थिएँ, सुरक्षित हुनुहुन्छ,’ राजदूत पण्डितले भने, ‘युद्ध रोकिएर अन्तर्राष्ट्रिय उडान सुरु भएलगत्तै उहाँलाई नेपाल फर्किने वातावरण बनाइने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *