बेतलबी बिदा जोडेर पेन्सन खाने त्रिविको निर्णय उल्टियो
‘अब बेतलबी बिदा पेस्नसमा जोडिदैन’, त्रिविका एक उच्च अधिकारीले भने ।
२ असार, काठमाडौं । प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याएको छ । शुक्रबार त्रिविको कार्यकारी परिषद्ले बेतलबी बिदा जोडेर पेन्सन लिन नपाइने निर्णय गरेको हो ।
‘शुक्रबार भएको निर्णयमा कार्यकारी परिषद्का सदस्यले आइतबार हस्ताक्षर गर्नुभएको छ’, त्रिविका एक अधिकारीले भने । ‘अब बेतलबी बिदा पेस्नसमा जोडिदैन’, त्रिविका एक उच्च अधिकारीले भने ।
यसअघि बेतलबी बिदा जोडेर पेन्सन लिएको रकम फिर्ता गराउने वा नगराउने भन्नेबारे त्रिविले निर्णय गरेको छैन । स्रोतका अनुसार समिति बनाएर छानबिन गर्ने तयारी त्रिविको छ ।
‘बेतलबी बिदा जोडेर पेन्सन खाने प्राध्यापक कति छन् । कति रकम गएको छ यसबारे छुट्टै अध्ययन आवश्यक छ । यसका लागि कमिटी बनाएर अध्ययन गर्ने विषय कार्यकारीमा उठेको छ’, ती अधिकारीले भने ।