माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास

ज्वालाले पार्टी अध्यक्षकै रूपमा नेपालले बैठकको अध्यक्षता गरिरहेको र संसदीय दलको नेताबारे संसदीय दलकै बैठकबाट निर्णय गरिने बताए ।

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गा प्रकरणको बारेमा विस्तृत रूपमा धारणा राखेका छन् ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको छैटौं सचिवालय बैठकले पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष बैठकले निकालेको छ ।

‘हाम्रो पार्टीमाथि स्थापनाकालदेखि नै षड्यन्त्र र प्रहारहरू हुँदै आएको छ र अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा लगाइनुलाई यसको शृङ्खलाकै रूपमा रहेको हाम्रा नेताहरूले बैठकमा धारणा राखेका छन्,’ उनले भने ।

ज्वालाले पार्टी अध्यक्षकै रूपमा नेपालले बैठकको अध्यक्षता गरिरहेको र संसदीय दलको नेताबारे संसदीय दलकै बैठकबाट निर्णय गरिने बताए ।

बैठकमा अध्यक्ष नेपालले सरकारले प्रधानमन्त्री, मन्त्री र शक्तिशाली नेताहरूको क्षेत्रमा मात्र बजेट केन्द्रित गरेर प्राथमिकतामा पर्नुपर्ने क्षेत्रलाई बजेटविहीन बनाएको कुरा राखेको उनले जानकारी दिए ।

‘सरकारले एकप्रकारले लुट्ने खालको बजेट ल्याएको छ, विदेशमा रहेका नेपालीहरू असुरक्षित रहेका छन् । महंगी बढेका छन्, यिनै समसामयिक विषयमा अध्यक्षले कुरा राख्नुभयो,’ ज्वालाले भने, ‘उहाँले पतञ्जलि जग्गा प्रकरणको बारेमा विस्तारमा ब्रिफिङ पनि गर्नुभयो ।’

बैठकका वक्ताहरूले समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ, सादगी र किफायती जीवनशैली बाँचिरहेका नेपालमाथि नै भ्रष्टाचारको मुद्दा लगाउनु राजनीतिक प्रतिशोधको प्रतिफल भएको निष्कर्ष निकालेको प्रवक्ता ज्वालाले जानकारी दिए ।

‘यो पार्टी र आन्दोलनमाथिकै प्रहार हो भनेर साथीहरूले कुरा राख्नुभएको छ,’ उनले भने, ‘हामीमाथि राजनीतिक प्रतिशोधका साथ प्रहार गरिएकोले कानुनी उपचारका निम्ति सबैखाले प्रयास गरिनेछ, कानुनी रूपमै फेस गर्छौं, हामीले सफाइ पनि पाउँछौं ।’

बैठकले उखु किसानलाई अनुदान दिन बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दै उक्त निर्णय सच्याउन माग गरेको छ ।

बैठकले रोपाईंको बेला किसानलाई मल उपलब्ध गराउन पनि माग गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।

बैठकमा आज केही नेताहरूले धारणा राखेको र बाँकी नेताहरूले शनिबार बिहान बोल्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *