सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता

गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।

काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना बेपत्ता भएका छन्। गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पामा बस्दै आएका १६ जना बेपत्ता भएपछि प्रहरीले खोजतलास गरिरहेको छ।

उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले जानकारी दिए। गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।

गाउँपालिकाका प्रवक्ता थापाले भने, ‘घटनास्थलमा अनुसन्धान गर्दा यहाँ केही पनि देखिँदैन। घटनास्थल हेर्दा कतै गएर बसेको जस्तो देखिन्छ। अरु कुरा पत्ता लागेको छैन। प्रहरीले खोजीकार्य जारी राखेको छ।’

प्रवक्ता थापाले प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताए। उनले भने, ‘फोनचाहिँ रामेछापमा चलिरहेको छ। प्रयोग भएको देखिन्छ। रामेछापमा टावर देखाएको भन्ने छ। फोन सम्पर्क भएको छैन।’

प्रवक्ता थापाले उनीहरूको खोजीकार्य नाता, सम्बन्ध भएको सबै ठाउँमा भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *