रसुवागढी क्षतिको साढे ८४ करोड बिमा दाबी
रसुवागढी क्षतिको साढे ८४ करोड बिमा दाबी
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा गत असार २३ गते आएको बाढीले ठूलो मात्रामा धनजनको क्षति गरेको थियो । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीले क्षति पुर्याएपछि बिमा कम्पनीहरूमा ८४ करोड ३८ लाख १० हजार रुपैयाँबराबरको बिमा दाबी परेको छ ।
नेपाल बिमा प्राधिकरणमा साउन ८ गतेसम्म प्राप्त तथ्यांकअनुसार कुल ६८ वटा दाबीबाट सो रकम बराबर क्षति भएको अनुमान गरिएको छ । तर, यो उक्त स्थानको बाढीपहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबीको विवरण भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकनुसार ११ वटा बिमा कम्पनीमा दाबी परेको छ । दाबीको विवरण अनुसार नीर्जिवन बिमा कम्पनीहरूमध्ये हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा सबैभन्दा बढी दाबी रकम परेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्समा मात्रै २ वटा दाबीबाट ५५ करोड रुपैयाँ परेको छ । यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीमा १२ वटा दाबीबाट १६ करोड ८५ लाख १० हजार रुपैयाँको, नेको इन्स्योरेन्समा ३ वटा दाबीबाट ५ करोड १२ लाख रुपैयाँ परेको छ । यसबाहेक, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ दाबीबाट २ करोड ६५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीबाट १२ दाबीबाट १ करोड २८ लाख ५० हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सबाट ३ दाबीबाट ९१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ वटा दाबीबाट ७५ लाख ५० हजार रुपैयाँबराबरको परेको छ । यसैगरी, सानीमा जीआईसी इन्स्योरेन्समा ६ वटा दाबीबाट ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडः ६ दाबीबाट ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ दाबीबाट ३१ लख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ६ वटा दाबीबाट २८ लाख रुपैयाँबराबरको परेको छ ।