आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदै


३० मंसिर, काठमाडौं । आज धान्य पूर्णिमा, योमरी पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसीयालीमा धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । नेवार समुदायको ठूलो पर्वका रूपमा मनाइने योमरी पुन्हिलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ ।
यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमा मेला लाग्ने गर्दछ ।
यस्तै आज किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।
किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउने चलन छ । बाली लगाउने बेलामा भने किराँत समुदायले उभौली पर्व मनाउँछन् ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच) सहित पर्व मनाउँछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ ।
सानो हात्तीवनमा आज पूजाआजासहित उधौली पर्व मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ ।
वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला अर्थात भूमिलाई धन्यवाद दिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *