जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो
३ पुस, काठमाडौं । टियु क्रिकेट मैदानमा बुधबार जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुग्ने पहिलो टोली बनेको छ।
ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो ।
सुदूरपश्चिमले दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो ।
सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनले २१ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाउँदै किशोर महतोको बलमा जेम्स निसमबाट क्याच भए। जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले समान १ १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
क्वालिफायर वानमा पराजित भएपनि जनकपुरले फाइनल पुग्नका लागि अर्को खेल खेल्ने अवसर पाउनेछ ।
जनकपुरले अब एलिमिनेटरको विजेता कर्णाली याक्ससँग बिहीबार क्वालिफायर टु खेल्नेछ ।