हुम्लामा हिमपात : किसान खुसी भए

मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन्


१३ पुस, काठमाडौं । आज बिहानैबाट हिउँदे वर्षा सुरू भएको छ। पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राना पुस्ताहरूको भनाइ छ, ‘पुसको हिउँ सिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि पुस महिनामा हिउँ परेपछि हुम्ली किसानहरू खुसी छन् । पुस महिनाबाट हिउँ पर्न थालेपछि मंसिर महिनामा खेतबारीमा छरेको जेठासे उवा, जौं, गहुँ राम्रो हुने भएकोले किसान खुसी भएका हुन् ।

हिउँबिना हुम्लीको जीवन चल्दैन भन्दा पनि हुन्छ । हुम्लीहरू हिउँदमा कम्तीमा पाँचदेखि १० फिटजति हिउँ पर्नुलाई अति राम्रो मान्छन् । हिउँ परेपछि जाडो बढ्नुका साथै परिवारमा एक प्रकारको खुसी पनि भित्रिन्छ । हिउँ हुम्लाका लागि सिँचाइको मुख्य स्रोत भएकाले समयमा हिउँ परेन भने हुम्लामा खेती उब्जनी प्रभावित हुन्छ ।

पुस महिनामा हिउँ पर्नु हुम्ली जनताका लागि शुभ सङ्केत भएको बताउँछिन् सिमकोट –६ की रूपसी रोकाया । पहिले ४ ५ फिट हिउँ पर्ने गरेको बताउँदै उनले अहिले एकदुई फिट मात्रै हिउँ पर्ने गरेकोले किसानमा चिन्ता थपिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *