वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए
२१ पुस, काठमाडौं । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएको थियो ।
मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको बताए ।
राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । सोही क्रममा उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको बोहराले बताए । यादवको उपचार जनकपुर न्यूरो अस्पतालमा भइरहेको छ ।
त्यसपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको हो । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली झिकाएको थियो ।