साताभर राताम्मे सेयर बजार
साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
७ चैत, काठमाडौं । यो साताभर सेयर बजार राताम्मे भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबारसम्म घट्ने क्रम कायमै रह्यो। आज नेप्से परिसूचक १२.२८ अंकले घटेर २६६९.७६ विन्दुमा अडिएको छ।
बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो ।
साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज डोल्टी पावरको सेयर सर्वाधिक ७.५६ प्रतिशतले बढ्यो। दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ। मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डभलपमेन्टको सेयर १० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको सेयर २८ करोड २१ लाख मूल्य बराबरमा खरिदबिक्री भयो। हिमालयन रिइन्स्योरेन्सको २३ करोड,सिन्धु विकास बैंक र युनाइटेड मोदी हाइड्रोपावरको १६/१६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
घलेम्दी हाइड्रोको १३ करोडको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६२ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।