सांसद माया राईविरुद्धको पुरक अभियोजनामा ३७ लाख बिगो मागदाबी
२० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।

३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
२० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।
यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको छ ।
यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनीपछि धरौटीमा रिहा भएका थिए ।
यसअघि सांसद राईलाई उन्मुक्ति दिँदै मुद्दा दर्ता भएको थियो । सांसद राईलाई उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि १३ वैशाखमा प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो ।
उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था भए पनि सांसद राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दर्ता भएको हो ।