प्रधानमन्त्रीलाई सभापति लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन आग्रह

सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन आग्रह गरेको छ


१२ मंसिर, काठमाडौं । सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा तत्काल अदालत पुर्‍याउन आग्रह गरेको छ ।

सभापति लामिछानेलाई प्रहरीले हिरासत बसाइँ लम्ब्याएको र अनुसन्धान गर्ने भन्दै एक पछि अर्को जिल्लामा पठाइएको रास्वपाको गुनासो छ ।

मंगलबार सिंहदरबारमा भेटेर रास्वपा प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै मुद्दा छिटो अदालत पुर्‍याउन आग्रह गरेका हुन् ।

प्रमुख सचेतक परियारले प्रधानमन्त्री ओलीलाई भने, ‘सभापति ज्युलाई कस्टडीमा राख्नुभएको छ । अदालतमा बुझाउने हो कि लामो समय हिरासतमा मात्रै राख्ने ?’

प्रधानमन्त्री ओलीले जवाफमा प्रहरीले अनुसन्धान गरिरहेको बताएका थिए ।

परियारले ‘सभापतिज्युलाई खुइल्याउन सकिने विषय मिडियामा ट्रायलका रुपमा आइराखेको छ । अर्कोतर्फ हिरासत कहिलेसम्म भन्ने पनि टुंगो भएन’ भनेका थिए ।

प्रधानमन्त्री ओलीले प्रहरी अनुसन्धान प्रभावित पर्ने काम आफूबाट नहुने र प्रहरीले निश्चित समयमा मुद्दा अदालतमा लैजाने भएकाले यो प्रक्रियाप्रति फरक मत राख्नुपर्ने आवश्यकता नरहेको बताएका थिए ।

त्यसपछि रास्वपाका प्रमुख सचेतक परियारले जतिसक्दो छिटो मुद्दा अदालतमा लैजाने वातावरणका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *