मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप
११ मंसिर, काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ । आगामी फागुन १ गतेसम्म तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा म्याद भएको छ ।
दोस्रोपटकका लागि उक्त खण्डको म्याद थप भएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । यस अवधिसम्म सडकको काम ६८ प्रतिशत सकिएको छ भने दोस्रोपटक थप भएको म्याद अवधिभित्र काम सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको पाण्डेले जानकारी दिए ।
पाण्डेले आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकबाट सत्र सय खण्डमा अहिले अन्तिम कालोपत्रको काम भइरहेको र पूर्वी खण्डमा अन्तिम कालोपत्रसमेत थालिएको बताएका छन् । उनले भने, ‘यसअघि सडकको मोटाइ ६ सेन्टिमिटर थियो, अब त्यही ठाउँमा थप ४ सेन्टिमिटरको काम हुनेछ ।’ अन्तिम चरणको कालोपत्रअन्तर्गत हालसम्म २।४ किलोमिटरभन्दा बढीमा कालोपत्र सकिएको छ ।
पश्चिम खण्डतर्फ हालसम्म ३२ प्रतिशत प्रगति भएको छ । पश्चिमखण्ड (जामुने–पोखरा)को म्याद आगामी डिसेम्बर ६ सम्म बाँकी छ । तर उक्त अवधिसम्म काम नसकिने भएपछि ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ ।