विद्युत् प्राधिकरणको सबस्टेसन निर्माणको क्रममा लप्सीफेंदीका स्थानीय र प्रहरीबीच झडप
४ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका लप्सीफेंदीका स्थानीय र प्रहरीबीच झडप भएको छ।
झडपमा संलग्न १७ जनालाई नियन्त्रणमा लिएकोमा १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् भने ४ जनालाई छाडेको छ।
सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो। प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ।
नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि सबस्टेसन निर्माण गर्न लागेको छ।
बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग छ। यसअघि २०८० साल मंसिरमा पनि स्थानीयसँग झडप हुँदा सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए।