नागार्जुनका मेयर बस्नेतविरुद्ध पौने नौ करोड गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर
बस्नेतविरुद्ध करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा

२८ माघ, काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध करिब आठ करोड ७० लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध गैरकानुनी सम्पत्तिसम्बन्धी मुद्दा दायर गरेको हो ।
मेयर बस्नेतकी पत्नी उर्मिला बस्नेतलाई पनि प्रतिवादीका रूपमा राखेर दायर भएको मुद्दामा सार्वजनिक पदको दुरुपयोग गर्दै बस्नेतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । उनीविरुद्धको यो तेस्रो मुद्दा हो । मुद्दा दायरसँगै बस्नेत मेयर पदबाट यसअघि नै निलम्बित भइसकेका छन् । कांग्रेसबाट उनी दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका थिए ।
अख्तियारले निर्वाचित हुनुपूर्व बस्नेत र परिवारका सदस्यका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाका खातामा रहेको सुरु मौज्दात, पारिश्रमिक तलब दैनिक भ्रमणलगायतका भत्ताबापतको रकम, पत्नी उर्मिलाको पारिश्रमिक र तलब तथा विद्यालय भत्ता, छोराको तलब, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाबाट लिएको कर्जा, घरजग्गा बिक्रीबाट प्राप्त आयलगायतको हिसाब र विश्लेषण गरेको थियो ।
त्यस्तै, बिमा आम्दानी, बैंक तथा वित्तीय संस्था र सहकारीमा रहेको रकमको ब्याज तथा विभिन्न कम्पनीहरूको सेयर बिक्रीबाट प्राप्त आम्दानीसमेतको गणना गरेको छ । आम्दानीतर्फ मेयर बस्नेत र परिवारका सदस्यका नाममा १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आयआर्जन गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
त्यस्तै, व्ययतर्फ जग्गा खरिद, घर निर्माण तथा मर्मत, अपार्टमेन्ट बुकिङ, विदेश भ्रमण, आफू र परिवारको उपचार खर्च, जग्गा कारोबारको कमिसन भुक्तानी, कम्पनीहरूमा गरेको लगानी, कर्जाको साँवा–ब्याज भुक्तानी तथा शेवा शुल्क, छोराछोरीको विवाहमा भएको खर्च र चन्दा दानलगायतमा उनको खर्च देखिएको छ ।
त्यस्तै, घरमा काम गर्ने सहयोगीको पारिश्रमिक, विभिन्न व्यक्तिलाई दिएको रकम, बिमा शुल्क भुक्तानी, लकर शुल्क, विदेश भ्रमण खर्च, सेयर खरिद, सवारीसाधन खरिद, नवीकरण तथा मर्मत, गरगहना खरिद र बैंक तथा वित्तीय संस्था एवं सहकारीका खाताको मौज्दात रकमसमेतको अख्तियारले विश्लेषण गरेको छ ।
यी सबै शीर्षकमा गरेर उनको खर्च तथा लगानीतर्फ २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ देखिएको छ । स्रोत नखुलेको त्यही रकमलाई बिगो कायम गरेर अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । दुई वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन र गैरकानुनी तवरले आर्जन गरेको तथा बढाएको सम्पत्ति जफत गरिपाउन अख्तियारले मागदाबी गरेको छ ।