बाला चतुर्दशी पर्व यस्तो रहेको छ पशुपति क्षेत्र विकास कोषको तयारी

शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने


१४ मंसिर, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा शतबीज छर्ने र बत्ती बाल्ने कार्यको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। कोषले काठमाडौं जिल्ला प्रशासन र महानगरपालिका सहितको सहयोगमा सबै तयारी पुरा भएको जनाएको हो।
यस वर्ष कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ । विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरेको कोषले जनाएको छ । बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो २ बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने  विकास कोषले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशी आज (शुक्रबार) पितृका नाममा बत्ती बाल्ने गरिन्छ। पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ। शनिबार (चतुर्दशी) का दिन बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।
सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ। पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *