भक्तपुरमा व्यक्ति मृत भेटिए, हत्याको आशंका
उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

१० चैत, काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले मृत भेटिनेमा खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई रहेको बताए ।
उनी कबाडीको सामान संकलन गर्ने व्यक्ति रहेको प्रहरीको भनाइ छ ।
उनको दाहिने कानको छेउ र टाउकामा समेत चोट लागेको पाइएको छ । शवको प्रकृति हेर्दा हत्या जस्तो देखिएको प्रवक्ता नेउपानेले बताए ।