खुल्यो दुई अर्ब रूपैयाँको नागरिक बचतपत्रः ब्याज कति ?
अनलाइन मार्फत १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने
१२ मंसिर, काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र २०८६ (क) निस्कासन गरेको छ।
बुधबार कार्यालयले ७.५ प्रतिशत वार्षिक ब्याजदरमा दुई अर्ब रूपैयाँ बराबरको बचतपत्र बिक्रीका लागि आह्वान गरेको हो।
बचतपत्र लिन इच्छुक नेपाली नागरिकले अनलाइन मार्फत १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ। बचतपत्रको आवेदन फाराम कार्यालयको वेबसाइटमा उपलब्ध हुने छ । आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरू अनलाइन अपलोड गर्नुपर्नेछ। बचतपत्रका लागि न्यूनतम आवेदन रकम १० हजार रूपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासन रकमको आधारमा तोकिएको छ।
नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो।
यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय पाँच वर्ष रहनेछ।
सरकारले यस बचतपत्रको माध्यमबाट नेपाली नागरिकलाई सुरक्षित र आकर्षक लगानी अवसर प्रदान गर्दै, सार्वजनिक ऋण व्यवस्थापनमा थप सुधारको योजना अघि बढाएको जनाएको छ।